बंगलादेशकी प्रधानमन्त्रीले गर्नेछिन् चीन भ्रमण : चीनको ऋण जालमा फस्ने त होइन बंगलादेश?

चीनको ऋणको जालमा धेरैवटा देशहरू परिसकेका छन् अनि त्यसको परिणाम पनि भोगिसकेका छन्। यसैबीच बंगलादेश सरकारले फेरि चीनसँग नयाँ ऋण माग्न लागेको छ । बंगलादेशको यो कदमले कतै चीनको जालमा बंगलादेश पर्ने त होईन भन्ने प्रश्न जन्मिएको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको आगामी चीन भ्रमणका क्रममा चीनसँग २० अर्ब डलरको नयाँ ऋण माग गरिने भएको छ । 


यसबाट चीनले दुई देशबीचको सम्बन्धमा सुधार आउने बताए पनि तर चीनको कुरामा भने सहजै विश्वास गर्न सकिँदैन। उक्त रकममध्ये १५ अर्ब डलर पूर्वाधार आयोजनाका लागि र ५ अर्ब डलर चीनबाट आयात गर्दा भुक्तानी सुविधाका लागि हुने ऋण प्रस्ताव तयार गर्ने अधिकारीहरूले बताएका छन् । बंगलादेशमाथि चीनको बढ्दो ऋणसँगै नेपाल, श्रीलंका, पाकिस्तानजस्ता राष्ट्रहरू पनि चीनको ऋणको जालमा फस्ने त होइन भन्ने चिन्ता धेरै विज्ञहरूले व्यक्त गरेका छन् ।

रिपोर्टका अनुसार प्रस्तावमा संलग्न अधिकारीहरूले धेरै पक्षमा सहमति भइसकेको तर यसलाई अन्तिम रूप दिन बाँकी रहेको बताएका छन् । ७ जुलाईसम्ममा प्रस्तावलाई अन्तिम रुप दिइने बताइएको छ । प्रधानमन्त्री शेख हसिना जुलाई ८ देखि जुलाई ११ सम्म चीनको भ्रमणमा जानेछिन् । शेख हसिनाको भारत भ्रमणको दुई सातापछि चीनको भ्रमण हुन लागेको हो ।

भारतपछि शेख हसिनाको चीन भ्रमणलाई दुवै क्षेत्रीय शक्तिसँग राम्रो सम्बन्ध बनाउने हसिनाको प्रयासका रूपमा हेरिएको छ । बंगलादेशले पटुआखालीको पायरा बन्दरगाहमा केन्द्रित दक्षिणी एकीकृत विकास पहल (SIDI) को लागि आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग पनि सहयोग खोज्नेछ। यो दक्षिणी क्षेत्रका लागि एकीकृत विकास योजना हुनेछ जसमा यातायात र सञ्चार, आईसीटी, विद्युत, रसद र विशेष आर्थिक क्षेत्रका परियोजनाहरू समावेश हुनेछन्।

ऋणको कुरा गर्नु हो भने बंगलादेशको डलर सञ्चिति घट्दै गएपछि आयातकर्तालाई चीनबाट खरिद गरिएका वस्तु तथा सेवाको भुक्तानी गर्न सहज होस् भनेर बंगलादेशले यसअघि ५ अर्ब युआन ऋण मागेको थियो । बंगलादेश र चीनबीचको द्विपक्षीय व्यापार २३ अर्ब डलरको छ, जसमा बंगलादेशको आयात हिस्सा झण्डै पूरै छ। एक अधिकारीले चिनियाँ एक्जिम बैंकको टोलीले आर्थिक सम्बन्ध महाशाखाका अधिकारीहरूसँग भेट गरेको बताए। यो अर्थ मन्त्रालयको शाखा हो जसले विदेशी ऋण वार्ता र ऋण सर्तहरू छलफल गर्दछ।

बंगलादेशमाथि चीनको बढ्दो ऋणसँगै यसको चिन्ता पनि बढ्दै गएको छ । अन्य धेरै देशजस्तै बंगलादेश पनि चीनको ऋणको जालमा फस्न सक्ने विज्ञहरू बताउँछन् । बंगलादेश एक्सचेन्ज कमिसनका आयुक्त रुमाना इस्लामले बंगलादेशले चीनसँग एफटीए र अन्य सम्झौता गर्न चाहेको तर राष्ट्रिय हितका लागि बुद्धिमानीपूर्वक वार्ता गर्नुपर्ने बताइन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया