चिनियाँ हतियार किनेर पछुतायो बंगलादेशी सेना : फाइरिङ पनि गर्न सकेको छैन

मेड इन चाइनाका सामान विश्वभर नै चर्चित छन् । हिन्दीमा एउटा उखान नै छ-चीन का सामान चले तो चांद तक, नहीं तो शाम तक अर्थात चिनियाँ सामान चल्यो भने चन्द्रमासम्म टिक्छ, नत्र साँझसम्म मात्र । अहिले चिनियाँ हतियारको पनि त्यस्तै अवस्था छ । बंगलादेशको सेनाले दशकौंदेखि चीनबाट ठूलो मात्रामा हतियार खरिद गर्दै आएको छ ।

अब बंगलादेशको सेनाले चिनियाँ कम्पनीहरूलाई दोषपूर्ण पार्टपुर्जा उपलब्ध गराएको र ती हतियार प्राविधिक समस्याको सामना गरिरहेको आरोप लगाएको छ । बंगलादेशले चीनबाट युद्धपोत, गस्ती डुङ्गा र अन्य नौसैनिक जहाज खरिद गरेको छ र त्यसमा धेरै कमजोरी पाइएको छ । बंगलादेश वायुसेनाले चीनमा बनेको एफ-७ लडाकु विमान, के-८डब्ल्यु विमान र छोटो दूरीको वायु रक्षा प्रणाली पनि खरिद गरेको छ। ती हतियारहरूले फाइरिङ गर्न सक्ने अवस्था पनि छैन ।

रिपोर्टका अनुसार यी चिनियाँ हतियारको निर्माणमा अनियमितता हुँदछ र प्राविधिक समस्या पनि आउने गरेको छ । बंगलादेशी वायुसेनाले जबदेखि चीनले विमान दिएको छ तबदेखि नै यस्तो समस्या आएको बताएको छ । बंगलादेशले हवाई लक्ष्यलाई निशाना बनाउनका लागि अनि आफ्नो लडाकु विमानलाई लक्षित गर्न चीनबाट रडार खरिद गरेको थियो। यो पनि सही रूपमा लक्ष्य पहिचान गर्न सकिरहेको छैन। बंगलादेशी सेनाले चीनबाट ट्याङ्क खरिद गरेको भए पनि बारम्बार अनुरोध गर्दा पनि पार्टपुर्जा आपूर्ति गरेको छैन ।

बंगलादेशको नौसेनाले पनि यस्तै चुनौतीको सामना गरिरहेको छ । बंगलादेश पुगेपछि चीनमा बनेका दुई फ्रिगेटमा धेरै प्राविधिक त्रुटिहरू बाहिर आएका छन् । अब चिनियाँ कम्पनीहरूले यसलाई ठीक गर्न थप पैसा मागिरहेका छन्। एक दशकअघि चीनले बंगलादेशलाई दुईवटा मिङ क्लास पनडुब्बी दिएको थियो र त्यसका लागि २० करोड डलर मात्र लिएको थियो।

पछि थाहा भयो कि चीनले पुरानो पनडुब्बी बंगलादेशलाई हस्तान्तरण गरेको थियो जुन कुनै कामको थिएन। गत वर्ष बंगलादेशी नौसेनाले चिनियाँ कम्पनी भ्यानगार्ड इन्डस्ट्रीलाई उसले बनाएको युद्धपोतमा जडान गरिएको तोपले काम नगरेको बताएको थियो । त्यसपछि चिनियाँ कम्पनीले अझ थप पैसा दिएमा मात्र त्यसलाई बनाउने बताएको थियो ।

बंगलादेशले चीनबाट मल्टि लन्च रकेट सिस्टम खरिद गरेको थियो तर अहिले टर्कीबाट यो रकेट सिस्टम खरिद गरिरहेको छ । चीनको कमजोर हतियारबाट बंगलादेश मात्र होइन म्यानमार पनि चिन्तित छ । म्यान्मार आर्मीले पाएका जेएफ–१७ लडाकु विमान बेकार साबित भएका छन्, जुन चीन र पाकिस्तानले मिलेर बनाएका थिए । चीनले विश्वलाई हतियार आपूर्ति गर्दै आए पनि अत्याधुनिक सैन्य उपकरणमा विज्ञता नभएको विज्ञहरू बताउँछन् । चीनका अधिकांश हतियार पुरानो प्रविधिमा आधारित छन् जसलाई उसले पश्चिमी देशबाट नक्कल गरेर बनाएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया