अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डलले बुधवार तिब्बतका आध्यात्मिक नेता दलाई लामालाई भारतस्थित उनको निवासमा भेटेको छ।लामाका सयौँ समर्थक तिब्बत र अमेरिकाको झण्डा बोकेर भेला भएका थिए। द्विपक्षीय प्रतिनिधिमण्डलमा रिपब्लिकन पार्टीका माइकल म्याकल र पूर्वसभामुख न्यान्सी पेलोसी थिए।
उनीहरू तिब्बत विवाद समाधान गर्न चीनलाई दबाब दिने अमेरिकी विधेयकमाथि छलफल गर्न तयार छन्। “संयुक्त राज्य अमेरिका तिब्बतका जनताको साथमा छ,“ म्याकलले भने
प्रतिनिधिमण्डलको भेटमा चीन आक्रोशित
तिब्बतलाई आफ्नो क्षेत्र दावी गर्दै आएको र दलाई लामालाई खतरनाक पृथकतावादी ठानेको चीन अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणबाट आक्रोशित बनेको छ।
चिनिया अधिकारीहरूले अमेरिकी प्रतिनिधिमण्डलाई दलाई गुटसँग सम्पर्क नगर्न र राष्ट्रपति जो बाइडेनलाई विधेयकमा हस्ताक्षर नगर्न आग्रह गरेका छन्।
‘यो सबैलाई थाहा छ कि १४औँ दलाई लामा एक शुद्ध धार्मिक व्यक्तित्व होइन, तर धर्मको आडमा चीन विरोधी पृथकतावादी गतिविधिमा संलग्न राजनीतिक निर्वासन हो,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जानले भनेका छन्।
८८ वर्षीय दलाई लामा सन् १९५९ मा चिनियाँ शासनविरुद्ध असफल विद्रोहपछि तिब्बतबाट भागेका थिए। उनले हिमालय पहाडको छेउमा रहेको भारतको हिमाञ्चल प्रदेशको सहर धर्मशालामा शरण लिएका छन्।
तिब्बती बौद्ध परम्परा अनुसार दलाई लामाको मृत्युपछि उनको पुनर्जन्म भएको हो। उनको उत्तराधिकारीको प्रश्न विवादास्पद छ। चीनको नास्तिक कम्युनिष्ट सरकारले उनीहरूसँग दलाई लामा नियुक्त गर्ने अधिकार रहेको दावी गरेको छ।
नयाँ दिल्लीले तिब्बतलाई चीनको हिस्सा मान्दै आएको छ। यद्यपि भारतले धेरै तिब्बतीहरूलाई शरण दिएको छ। चीनले कुनै पनि देशका अधिकारीको दलाई लामासँगको भेटलाई विरोध गर्दै आएको छ।
यसअघि दलाई लामाले पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर र बाराक ओबामालगायत धेरै अमेरिकी अधिकारीहरूसँग भेट गरेका छन्। उनले डोनाल्ड ट्रम्पलाई भेटेनन् र राष्ट्रपति जो बाइडेनलाई भेट्न बाँकी छ। दलाई लामा आफ्नो घुँडाको उपचारका लागि यसै साता अमेरिका जाने भएका छन्।
भ्रमणका क्रममा उनको कुनै औपचारिक भेटघाट छ कि छैन भन्ने स्पष्ट भएको छैन्। अमेरिका–चीन सम्बन्ध पछिल्लो समय चिसिँदै गएको छ। लामा र अमेरिकी प्रतिनिधिमण्डलको भेटले दुई पक्षबीच फेरि तनाव उत्पन्न हुने सम्भावना देखिएको छ। एजेन्सीको सहयोगमा
फेसबुकबाट तपाईको प्रतिक्रिया