अग्निवीरपछि भारतीय सेनामा गोर्खा सैनिकको प्रवेशमा रोक, चीनले उठाउन सक्छ फाइदा

नेपाल र भारत दुई छिमेकी राष्ट्रहरू बीचको मित्रताको कसीमध्ये एउटा हो भारतको गोर्खा रेजिमेन्ट। गोर्खा रेजिमेन्ट आफ्नो बहादुरी र निष्ठाको लागि विश्वभर परिचित छ।

२०० वर्षअघि गोर्खाहरू भारतीय सेनामा भर्ती भएका थिए, पहिले इस्ट इन्डिया कम्पनीको सेनामा, त्यसपछि ब्रिटिश इन्डियन आर्मीमा र १९४७ पछि भारतीय सेनामा भर्ती भइरहेका छन्। हाल भारतीय सेनाको सात गोर्खा रेजिमेन्टमा करिब ३२,००० गोर्खा (३९ बटालियन) मात्र छन्। यता, भारतीय सेनामा गोर्खा सैनिकहरूको संख्या निरन्तर घटिरहेको छ । पछिल्लो चार वर्षमा नेपालबाट कुनै पनि गोरखा सेनामा भर्ती भएका छैनन् । कोविड महामारीले २०२० को सुरुमा भर्तीमा बाधा पुर्‍याएको थियो। यसपछि, जुन २०२२ मा भारतीय सशस्त्र बलमा भर्तीका लागि नयाँ अग्निपथ योजनाको घोषणाले वास्तविक झट्का दिएको थियो।

भारत सरकारले अग्निपथ योजना ल्याएपछि नेपाल सरकारले अगस्ट २०२२ मा आफ्ना नागरिकको भर्ती रोकेको हो। यसको कारण भारत, नेपाल र बेलायतबीच सन् १९४७ डिसेम्बरमा भएको त्रिपक्षीय सम्झौता हो, जसमा गोर्खाहरूलाई भारतीय र बेलायती सेनामा समावेश गर्ने प्रावधान थियो। सम्झौताका सर्तहरूमा गोर्खाहरूलाई भारतीय सरह समान पारिश्रमिक, पेन्सन र अन्य सुविधाहरू पनि समावेश छन्। भारतले अग्निपथले प्रक्रियामा केही परिवर्तन नगर्ने बताएको छ तर अग्निपथ योजनाले नेपाली गोर्खा भर्तीमा गतिरोध सिर्जना गरेको छ, जुन अझै पनि जारी छ ।

‘अग्निपथ’ योजना लागू भएको दुई वर्षपछि विशेषगरी दुईवटा कुरा बाहिर आएका छन् । पहिलो भनेको सन् २०२१ पछि करिब १४ हजार नेपाली गोर्खा सैनिकले अवकाश पाए तर नयाँ भर्ती नहुँदा भारतीय सेनाको ऱ्याङ्कहरूमा शून्यता छाएको छ । दोस्रो, यो सम्पूर्ण मुद्दाले नेपाल–भारत सम्बन्धलाई असर गरेको छ । यसले भारतको रणनीतिक, सफ्ट-पावरलाई कमजोर बनाउन सक्ने विज्ञहरूको ठहर छ। कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादित भूमि क्षेत्रलाई लिएर दुई देशबीचको विवादले यो झन् चर्कन सक्छ । यसको लाभ अन्य देशहरूले लिन सक्ने पनि जानिफकारहरूको भनाइ छ। 

नेपाल र भारतबीचको असहज अवस्थालाई चीनले नियालिरहेको छ । चीनले नेपालमा आफ्नो रणनीतिक र आर्थिक गतिविधि बढाउन निरन्तर प्रयास गरिरहेको छ । नेपाली गोर्खा भर्तीमा प्रतिबन्धका कारण अर्को खतरनाक सम्भावना उत्पन्न भएको छ । यसले गोर्खाहरूलाई चीनको जनमुक्ति सेना (पीएलए) मा भर्तीतर्फ धकेल्न सक्छ। नेपाली गोर्खाहरू रोजगारीको समस्या झेलिरहेका छन् र जसले गर्दा चीनले यो अवस्थाको लाभ उठाउन सक्ने आशंका रहेको छ।

पछिल्लो समय युक्रेनको रणभूमिमा करिब १५ हजार नेपाली युवा रुसी सेनासँग लडिरहेको खुलासा भएको छ । यसले भारतीय सुरक्षा निकायका लागि खतराको घण्टी बजाएको छ । तत्काल चासो नलाग्ने भए पनि हिमाली सिमानामा चिनियाँ सेनासँग गोर्खाहरूले भारतसँग लड्ने सम्भावना पक्कै पनि ध्यान दिन लायक छ । भारतीय सेनाका एक अधिकारी भन्छन्, ‘नेपाली गोर्खा भर्ती नभएको झण्डै पाँच वर्ष भयो । दुवै देशको जिद्दी अडानलाई हेर्दा गोर्खा ब्रिगेड र त्यसको ३८ बटालियनको भविष्य अन्धकार भएको देखिन्छ । यसको फाइदा चीनले लिने सम्भावना धेरै छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया