निर्वाचनमा चिनियाँ हस्तक्षेपबारे स्वतन्त्र छानबिन गर्छौंः जस्टिन ट्रुडो

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हालैको निर्वाचनमा भएको भनिएको चिनियाँ हस्तक्षेपको स्वतन्त्र छानबिन गरिने बताएका छन् ।

बीबीसीका अनुसार यसका लागि नियुक्त अनुसन्धाताहरूले सन् २०१९ र २०२१ को आम निर्वाचनसँग सम्बन्धित गोप्य प्रतिवेदनहरूको समीक्षा गरी आगामी निर्वाचनका लागि सुझाव दिनेछन् ।

क्यानडाका विपक्षी दलहरूले यस विषयमा स्वतन्त्र छानबिनको माग गरिरहेका थिए । विपक्षी दलहरूका आरोप विपरीतले चीनले चुनावमा कुनै पनि हस्तक्षेपको खण्डन गरेको छ । चीनले चुनावमा हस्तक्षेपका दाबीहरूलाई पूर्णतया निराधार र अपमानजनक भनेको छ ।

पत्रकारहरूसँग कुरा गर्दै ट्रुडोले भने, ‘क्यानडाको सार्वभौमसत्तालाई चुनौती दिने यस्ता रिपोर्टहरू स्तब्ध बनाउने प्रकृतिका छन् र यो क्यानाडालीका रूपमा हामीमाथिको आक्रमण हो ।’
लामो समयदेखि चुनावमा हस्तक्षेप गर्ने चीन, इरान र रुसले गरेको प्रयास बारे क्यानडा सचेत रहेको र यो कुनै नयाँ समस्या नभएको ट्रुडोले बताए ।

उनले भने, ‘म एक विशेष स्वतन्त्र अनुसन्धानकर्ता नियुक्त गर्न लागेको छु जसलाई बहुसंख्यक जनताको समर्थन हुनेछ र उसले हस्तक्षेपलाई सम्बोधन गर्न र लोकतन्त्रलाई सुदृढ गर्न सुझाव दिनेछ । अनुसन्धानकर्ता नियुक्त भइनसके पनि यो काम छिट्टै हुने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया