तिब्बती समुदायका विषय ह्युमन राइट वाचको प्रतिवेदनमा

संसारभरको मानवअधिकारको अवस्था विश्लेषण गरिएको ‘ह्युमन राईट वाच’को प्रतिवेदनमा एमसीसी र बीआरआईको विषय पनि उल्लेख गरिएको छ।

ह्युमन राइट वाचको बिहीबार सार्वजनिक भएको प्रतिवेदनमा ६ वटा बुँदामा नेपालको मानव अधिकारको अवस्था विश्लेषण गरिएको छ। जसमा प्रमुख अन्तर्राष्ट्रिय विषय समेट्दै तिब्बती समुदायको समस्या उल्लेख गरिएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘चिनियाँ अधिकारीहरूको दबाब मान्दै नेपाल सरकारले अझै पनि नेपालमा बसोबास गर्दै आएको तिब्बती समुदायका व्यक्तिहरूको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रतामाथि अंकुश लगाउँदै आएको छ।’

त्यस्तै, प्रतिवेदनमा ‘बेल्ट एन्ड रोड इनिशिएटिभ (बीआरआई)’का विषयमा पनि प्रश्न गरिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘नेपाल चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिशिएटिभ’ मा सहभागी छ, भलै त्यस अन्तर्गत प्रस्तावित कुनै पनि योजना कार्यान्वयनमा ढिलाई भएको छ।’

त्यस्तै, अमेरिकी सहायता परियोजना एमसीसीका विषयमा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाको विकास कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग आबद्ध हुने नेपाल सरकारको निर्णय विवादास्पद बनेको थियो। केहीले यस निर्णयले चीनसँग नेपालको सम्बन्धलाई बिथोल्ने बताएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया